घनेश्वरको सफल अनुभवदेखि १६ जिल्लासम्म फैलिएको मोसो बाँस खेतीको यात्रा, यसको व्यावसायिक सम्भावना, उपयोगिता र विस्तारका प्रयासबारे बद्री अधिकारीको अनुभव।
बाँस प्रकृतिले दिएको बहुउपयोगी वनस्पति हो । यो घाँस परिवार (Poaceae) अन्तर्गत पर्ने बहुवर्षीय तथा काष्ठीय प्रकृतिको वनस्पति हो । विश्वका विभिन्न भूभागमा पाइने बाँसका प्रजातिमध्ये मोसो बाँस (Moso Bamboo – Phyllostachys edulis) व्यावसायिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ ।
मोसो बाँस आफ्नो अग्लो काण्ड, मोटाइ, बलियोपन र तीव्र वृद्धिका कारण चिनिन्छ । अनुकूल वातावरणमा यसको उचाइ करिब ७५ फिट र काण्डको व्यास १८ सेन्टिमिटरसम्म पुग्न सक्छ । यसको भूमिगत गानो (Rhizome) जमिनमुनि चारैतिर फैलिँदै जाने भएकाले अन्य धेरै बाँस प्रजातिभन्दा यसको फैलिने प्रकृति फरक हुन्छ ।
समशीतोष्ण हावापानीमा राम्रोसँग हुर्कने यो प्रजाति नेपालको मध्यपहाडी क्षेत्रका उपयुक्त स्थानमा व्यावसायिक रूपमा खेती गर्न सकिने सम्भावना बोकेको बाँस हो ।
नेपालमा मोसो बाँसको खेती : घनेश्वरको अनुभव
नेपालमा मोसो बाँसको सम्भावना पहिचान गर्ने क्रममा काभ्रेपलाञ्चोक जिल्लाको घनेश्वरस्थित बैकिवा सामुदायिक वनमा गरिएको परीक्षण वृक्षारोपण एउटा महत्त्वपूर्ण उदाहरण हो ।
२०६४ साल साउन महिनामा नेपाल वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको पहलमा उक्त सामुदायिक वनको करिब ०.५ हेक्टर क्षेत्रफलमा ५०० वटा मोसो बाँसका बिरुवा रोपिएका थिए । समुद्री सतहबाट करिब १,५५० मिटर उचाइमा रहेको यस क्षेत्रमा मोसो बाँसले राम्रोसँग वृद्धि गरेको छ । रोपिएको क्षेत्र विस्तार हुँदै हाल एक हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको छ ।
विशेषगरी उत्तर मोहडा भएको ओसिलो तथा केही छायायुक्त जमिनमा यसको वृद्धि राम्रो देखिएको छ । अहिले उक्त क्षेत्रमा बाँस र अन्य रूखहरू सँगसँगै हुर्किरहेका छन् । त्यहाँ पुग्दा बाँसको हरियालीले छुट्टै आकर्षण पैदा गर्छ । वन अवलोकनका लागि आउने पर्यटक तथा आगन्तुकहरूले पनि यस क्षेत्रको प्रशंसा गर्ने गरेका छन् । सामुदायिक वनका उपभोक्ता तथा पदाधिकारीहरू पनि यस प्रयासप्रति सन्तुष्ट र गौरवान्वित हुनुहुन्छ । यो अनुभवले नेपालका उपयुक्त मध्यपहाडी क्षेत्रमा मोसो बाँस खेती विस्तार गर्न सकिने सम्भावनालाई देखाएको छ ।
मोसो बाँस खेती गर्ने तरिका
मोसो बाँस खेती गर्दा सुरुमा नै गुणस्तरीय र स्वस्थ बिरुवा छनोट गर्नु महत्त्वपूर्ण हुन्छ । नर्सरीमा पर्याप्त समय हुर्काइएका र राम्रोसँग जरा विकास भएका बिरुवा रोप्दा सफल हुने सम्भावना बढी हुन्छ । खेती गर्दा निम्न कुरामा ध्यान दिनुपर्छ ।
जग्गाको छनोट: पर्याप्त चिस्यान भएको, पानी नजम्ने तथा उपयुक्त माटो भएको स्थान रोज्नुपर्छ ।
बिरुवा रोप्ने दूरी: एक लाइनदेखि अर्को लाइनसम्म ३ मिटर र एक बिरुवादेखि अर्को बिरुवासम्म ३ मिटर दूरी कायम गर्न सकिन्छ ।
खाडलको तयारी: सामान्यतया ४५ × ४५ सेन्टिमिटरको खाडल खन्नुपर्छ ।
बिरुवा रोप्ने समय: उपयुक्त वर्षा हुने समयमा रोप्दा बिरुवा स्थापित हुन सहज हुन्छ ।
प्रारम्भिक हेरचाह: रोपेको सुरुका वर्षमा नियमित गोडमेल, झारपात नियन्त्रण र आवश्यकताअनुसार सिँचाइ गर्नुपर्छ ।
सानो तथा कलिलो बिरुवा कडा घाम र भारी वर्षाबाट प्रभावित हुन सक्छ । त्यसैले सुरुको अवस्थामा बिरुवाको उचित संरक्षण गर्नुपर्छ ।
मुसाबाट जोगाउन विशेष ध्यान दिनुपर्छ ।
घनेश्वरको खेती अनुभवमा बिरुवा रोपेको करिब तीन वर्षपछि मुसाले भूमिगत गानो तथा जरामा क्षति पुर्याउन थालेको देखिएको छ । त्यसैले बाँस रोपिएको क्षेत्र सुरुदेखि नै सफा राख्ने, मुसाको गतिविधि निगरानी गर्ने र आवश्यकताअनुसार सुरक्षित नियन्त्रण विधि अपनाउनुपर्छ ।
मोसो बाँसको उपयोग र व्यावसायिक महत्त्व
मोसो बाँसको सबैभन्दा ठूलो विशेषता यसको बहुउपयोगिता हो । यसको काण्ड बलियो र आकारमा ठूलो हुने भएकाले विभिन्न घरेलु तथा औद्योगिक प्रयोजनमा प्रयोग गर्न सकिन्छ ।
घनेश्वरमा उत्पादित सुरुका बाँसहरू तरकारीका थाँक्रा, डोको–डालो तथा सिन्का बनाउन प्रयोग गरिएका थिए । पछि बाँसको उत्पादन बढ्दै गएपछि हस्तकलाका सामग्री उत्पादन गर्ने संस्थालाई बिक्री गर्न थालियो । यस क्रममा ग्रिन ब्याम्बो क्रियशनसँग पनि सहकार्य गर्ने अवसर प्राप्त भयो ।
मोसो बाँसका प्रमुख उपयोगहरू यसप्रकार छन् :
१. हस्तकलाका आकर्षक तथा उपयोगी सामग्री निर्माण ।
२. फर्निचर तथा घरायसी सजावटका सामग्री उत्पादन ।
३. निर्माण सामग्री तथा विभिन्न संरचना निर्माण ।
४. कागज उद्योगका लागि कच्चा पदार्थ ।
५. बाँसको रेसा प्रशोधन गरी कपडा तथा अन्य औद्योगिक सामग्री उत्पादन ।
६. कृषि प्रयोजनका लागि थाँक्रा, बार तथा अन्य सामग्री निर्माण ।
यसरी मोसो बाँसको उपयोगिता परम्परागत घरेलु प्रयोजनमा मात्र सीमित छैन । उचित प्रशोधन प्रविधि र बजारको विकास गर्न सके यसबाट विभिन्न मूल्य अभिवृद्धि भएका सामग्री उत्पादन गर्न सकिन्छ ।
वातावरण संरक्षणमा मोसो बाँसको योगदान
मोसो बाँस आर्थिक उपयोगिताका साथै वातावरणीय दृष्टिले पनि महत्त्वपूर्ण छ । यसको भूमिगत गानो तथा जराको फैलावटले माटोलाई समात्न र भूक्षय न्यूनीकरणमा सहयोग पुर्याउन सक्छ । उपयुक्त स्थानमा गरिएको बाँस खेतीले जमिनमा चिस्यान कायम राख्न तथा पानीका मुहान वरपरको वातावरण संरक्षणमा योगदान दिन सक्छ । त्यसैगरी, कम उपयोग भएका जमिनको सदुपयोग, हरियाली विस्तार र स्थानीय स्तरमा रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्न पनि यसको खेती उपयोगी हुन सक्छ ।
मोसो बाँसको बिरुवा उत्पादन तथा वितरण अभियान
मोसो बाँसको सम्भावना र उपयोगितालाई व्यवहारमा विस्तार गर्ने उद्देश्यले मैले घनेश्वर–बनेपामा मोसो बाँस नर्सरी स्थापना गरी बिरुवा उत्पादन तथा वितरण गर्दै आएको छु ।
हालसम्म मेरो नर्सरीबाट उत्पादित मोसो बाँसका बिरुवाहरू काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, दोलखा, रामेछाप, इलाम, नुवाकोट, धादिङ, कास्की, जुम्ला, कालिकोट, दैलेख, जाजरकोट र अछाम गरी १६ जिल्लामा पुर्याइएको छ ।
उपलब्ध अभिलेखअनुसार यी जिल्लाहरूमा हालसम्म करिब १२ हजार ५०० मोसो बाँसका बिरुवा रोपिएका छन् ।
यस अभियानमा वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, विभिन्न डिभिजन वन कार्यालय, स्थानीय सरकारी निकाय तथा वन र वातावरण संरक्षणसँग सम्बन्धित संघसंस्थाबाट सहयोग र समन्वय प्राप्त हुँदै आएको छ ।
भविष्यको सम्भावना
नेपालमा बाँस खेतीको सम्भावना अझै पर्याप्त रूपमा उपयोग हुन सकेको छैन । विशेषगरी मध्यपहाडी क्षेत्रका उपयुक्त खाली जमिन, निजी बाँझो जग्गा तथा सामुदायिक वनका उपयुक्त क्षेत्रमा व्यावसायिक बाँस खेती विस्तार गर्न सकिन्छ ।
मोसो बाँस खेतीलाई केवल बिरुवा रोप्ने अभियानमा सीमित नराखी यसको उत्पादन, प्रशोधन, बजारीकरण र उद्योगसँग जोड्न आवश्यक छ । किसान, सामुदायिक वन, स्थानीय तह, अनुसन्धानकर्ता तथा निजी क्षेत्रबीच सहकार्य हुन सके बाँसमा आधारित नयाँ उद्यम र रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ ।
मेरो अनुभवमा मोसो बाँस खेती नेपालका लागि सम्भावनायुक्त कृषि तथा वनजन्य उद्यम बन्न सक्छ । यसका लागि उपयुक्त स्थानको पहिचान, गुणस्तरीय बिरुवा उत्पादन, प्राविधिक ज्ञान र बजार व्यवस्थापनमा थप ध्यान दिन जरुरी छ ।
बाँसलाई परम्परागत उपयोगमा मात्र सीमित नराखी आधुनिक उद्योग र व्यावसायिक उत्पादनसँग जोड्न सके यसले किसानको आम्दानी वृद्धि, वातावरण संरक्षण र स्थानीय अर्थतन्त्रको विकासमा योगदान पुर्याउन सक्छ ।
प्रतिक्रियाहरू 0