नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो । यहाँका चाडपर्व, संस्कार र परम्पराहरू धार्मिक आस्था तथा सामाजिक पहिचानसँगै प्रकृति र स्थानीय स्रोतसाधनसँग गहिरो रूपमा जोडिएका छन् । नेपाली समाजको सामाजिक, सांस्कृतिक र धार्मिक जीवनमा बाँसको सम्बन्ध निकै पुरानो छ । विभिन्न चाडपर्व, जात्रा, विवाह तथा धार्मिक संस्कारमा बाँसबाट निर्मित सामग्रीको प्रयोग हुँदै आएको छ । विशेषगरी तराईको छठ पर्वदेखि पहाड र हिमालका विभिन्न समुदायका सांस्कृतिक परम्परासम्म बाँसको महत्त्वपूर्ण उपस्थिति देखिन्छ ।
तराई क्षेत्रमा श्रद्धापूर्वक मनाइने छठ पर्वमा बाँसको विशेष महत्त्व छ । सूर्यदेव र छठी माताको उपासनाका क्रममा फलफूल, नरिवल, उखु, ठेकुवा, कसारलगायत पूजासामग्री राख्न बाँसबाट निर्मित ढाकी, सुप, कोनिया, नाङ्लो र डालो प्रयोग गरिन्छ । यी सामग्री पूजाविधिका साधन मात्र होइनन्, छठ पर्वको मौलिकता र सांस्कृतिक पहिचानका प्रतीक पनि हुन् ।
त्यस्तै, तिहारमा पूजासामग्री राख्न, विवाह तथा व्रतबन्धका विभिन्न संस्कारमा मण्डप, टोकरी र अन्य सामग्री बनाउन बाँसको प्रयोग हुँदै आएको छ । माघे सङ्क्रान्ति, उभौली–उधौलीलगायत विभिन्न जातीय तथा सामुदायिक पर्व र स्थानीय जात्राहरूमा पनि बाँसबाट निर्मित सामग्रीको सांस्कृतिक महत्त्व छ । ग्रामीण जनजीवनमा डोको, डालो, नाङ्लो, भकारी, मान्द्रो र चोयाबाट बनेका सामग्रीले दैनिक आवश्यकता पूरा गर्नुका साथै परम्परागत जीवनशैलीलाई निरन्तरता दिँदै आएका छन् ।
बाँसको प्रयोगले प्रकृतिमैत्री जीवनशैलीको सन्देशसमेत दिन्छ । बाँस छिटो बढ्ने, नवीकरणीय र बहुउपयोगी प्राकृतिक स्रोत हो । यसबाट निर्मित सामग्री पुनः प्रयोग गर्न सकिन्छ र प्लास्टिकजन्य वस्तुको तुलनामा वातावरणीय असर कम गर्न सकिन्छ । त्यसैले हाम्रा चाडपर्व तथा सांस्कृतिक गतिविधिमा बाँसका सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्नु प्लास्टिकको बढ्दो प्रयोग घटाउने व्यावहारिक विकल्प बन्न सक्छ ।
तर आधुनिकतासँगै प्लास्टिक तथा औद्योगिक सामग्रीको प्रयोग बढ्दा बाँसका परम्परागत सामग्रीको बजार र प्रयोग खुम्चिँदै गएको छ । यसको असर पुस्तौँदेखि बाँसका सामग्री निर्माण गर्दै आएका कारीगर तथा परम्परागत सीप भएका समुदायको रोजगारी र जीविकोपार्जनमा परेको छ । उनीहरूको कला र कौशल संरक्षण गर्नु आजको आवश्यकता हो । स्थानीय तहले यस्ता कारीगरलाई प्रोत्साहन, आधुनिक डिजाइन तथा उत्पादनसम्बन्धी तालिम र बजार पहुँचको व्यवस्था गर्दै परम्परागत सीप नयाँ पुस्तामा हस्तान्तरण गर्ने वातावरण बनाउनुपर्छ ।
अब बाँसलाई चाडपर्व र परम्परागत हस्तकलामा मात्र सीमित नराखी व्यावसायिक उत्पादन र औद्योगिक विकाससँग जोड्न आवश्यक छ । बाँसका सामग्रीको गुणस्तर, डिजाइन र विविधता बढाउने, स्थानीय उद्यम स्थापना गर्ने तथा बजार विस्तार गर्ने कार्यमा सरकार, निजी क्षेत्र, सहकारी र समुदायबीच सहकार्य हुनुपर्छ । यसका साथै व्यावसायिक बाँस खेती विस्तार गरी कच्चा पदार्थको नियमित आपूर्ति सुनिश्चित गर्नुपर्छ ।
हाम्रा चाडपर्व र संस्कारमा बाँसको प्रयोगलाई निरन्तरता दिनु भनेको केवल पुरानो परम्परा जोगाउनु होइन, प्रकृतिमैत्री जीवनशैलीलाई प्रोत्साहन गर्नु र पुस्तौँदेखि जीवित रहेको स्थानीय ज्ञान तथा सीपको सम्मान गर्नु पनि हो । बाँसको परम्परागत प्रयोगलाई व्यावसायिक खेती, आधुनिक प्रविधि, उत्पादन विविधीकरण र बजार विस्तारसँग जोड्न सकेमा यसले ग्रामीण अर्थतन्त्र, रोजगारी सिर्जना र नेपालको हरित औद्योगिकीकरणमा महत्त्वपूर्ण योगदान पुर्याउन सक्छ ।
प्रतिक्रियाहरू 0