बाँस मेरो लागि केवल वनस्पति होइन — सम्भावनाले भरिएको आधुनिक कृषि, हरित उद्यम र दिगो अर्थतन्त्रको बलियो आधार हो। संस्थापक बिष्णु थापाको भनाइ।
बाँस खेतीमा स्वयं संलग्न कृषक तथा यस क्षेत्रको निरन्तर अध्ययन र लेखनमा सक्रिय एक अध्येताका रूपमा मैले बाँसको उत्पादनदेखि बजारसम्म, प्रविधिदेखि प्रशोधनसम्म र रोजगारी सिर्जनादेखि वातावरण संरक्षणसम्म फैलिएको बहुआयामिक सम्भावनालाई खेतमै उभिएर नजिकबाट अनुभव गर्ने अवसर पाएको छु।
नेपालमा बाँसको परम्परागत र घरायसी प्रयोग निकै पुरानो भए पनि यसको आधुनिक व्यावसायिक सम्भावनाको खोजी र व्यवस्थित विकास अझै प्रारम्भिक चरणमै छ। आज विश्व बजारमा बाँसबाट खाद्य सामग्री (तामा) देखि अत्याधुनिक फर्निचर, निर्माण सामग्री, हस्तकला, टेक्सटायल (फाइबर/ कपडा), बायोचार, पेलेट तथा उच्च मूल्यवर्धित (Value-added) सामग्रीहरू उत्पादन भइरहेका छन्। नेपालमा पनि उपयुक्त प्रजातिको छनोट, आधुनिक प्रविधि, वैज्ञानिक उत्पादन प्रणाली, गुणस्तरीय प्रशोधन र सुदृढ बजार सञ्जाललाई एकीकृत गर्न सके हो भने बाँस हाम्रो ग्रामीण अर्थतन्त्र रूपान्तरणको महत्वपूर्ण आधार बन्न सक्छ।
तर केवल सम्भावना देख्नु मात्रै पर्याप्त हुँदैन। बाँसलाई एउटा सफल व्यवसायमा रूपान्तरण गर्न उत्पादनसँगै अध्ययन-अनुसन्धान, आधुनिक प्रविधि, गुणस्तर नियन्त्रण, लगानी, बजार पहुँच र उद्यमशील सोचको उत्तिकै आवश्यकता पर्छ। यही सम्भावना र व्यावहारिक चुनौतीबीचको दूरी कम गर्ने तथा कृषक अनुसन्धानकर्ता, उद्यमी र बजारलाई एउटै ज्ञान तथा सूचना सञ्जालमा जोड्ने उद्देश्यका साथ हामीले 'नेपालमा बाँस' (nepalmabass.com) डिजिटल प्लेटफर्मको अवधारणा अघि बढाएका हौँ।
एक कृषकका नाताले म यस क्षेत्रका समस्या र चुनौतीहरूलाई बाहिरबाट मात्र होइन, माटोमै पसिना बगाएर बुझ्ने प्रयास गरिरहेको छु। आज एउटा नवप्रवेशी वा व्यावसायिक कृषकले—गुणस्तरीय बिरुवा कहाँ पाउने ? कुन भूगोल र माटोका लागि कुन प्रजाति उपयुक्त हुन्छ ? आधुनिक तरिकाले खेती कसरी गर्ने ? उत्पादनपछिको बजार कहाँ छ ? र प्राथमिक उत्पादनबाट मूल्यवर्धित वस्तु कसरी बनाउने ? - जस्ता व्यावहारिक र प्राविधिक प्रश्नहरूको स्पष्ट उत्तर पाउनु जरुरी छ।
यसका साथै अनुसन्धानकर्ता, विद्यार्थी, प्राविधिक, उद्यमी, लगानीकर्ता र नीति निर्माताहरूबीच ज्ञान, अनुभव र प्रविधिको निरन्तर आदान-प्रदान हुनु उत्तिकै आवश्यक छ। यही आवश्यकतालाई सम्बोधन गर्ने एउटा साझा डिजिटल थलोका रूपमा 'नेपालमा बाँस' लाई अघि बढाउने हाम्रो प्रयास हो।
हामीले यस डिजिटल प्लेटफर्ममार्फत बाँस क्षेत्रका विभिन्न आदरणीय विज्ञ, प्राध्यापक तथा अनुसन्धानकर्ताहरूका अमूल्य विचार, अनुभव र ज्ञानलाई समेटिरहेका छौँ । 'नेपालमा बाँस' कुनै एक व्यक्ति वा संस्थाको मात्र प्लेटफर्म होइन; बाँससँग जोडिएका ज्ञान, अनुसन्धान, प्रविधि, उद्यमशीलता र सम्भावनाहरूलाई एउटै ठाउँमा जोड्ने साझा सञ्जाल हो। यस अभियानमा आफ्नो ज्ञान, अनुभव, मार्गदर्शन र योगदान प्रदान गर्नुहुने सम्पूर्ण विज्ञ, अनुसन्धानकर्ता, कृषक, उद्यमी तथा बाँसप्रेमीहरूप्रति म हार्दिक आभार व्यक्त गर्दछु।
अब बाँसलाई केवल परम्परागत वा घरायसी प्रयोगमा सीमित राख्ने समयभन्दा अगाडि बढ्नुपर्छ । यसलाई व्यावसायिक कृषि, हरित उद्योग, रोजगारी सिर्जना, आयआर्जन र वातावरणमैत्री अर्थतन्त्रको नयाँ अवसरका रूपमा हेर्न आवश्यक छ । विशेषगरी युवा पुस्ता, कृषि–उद्यमी र नयाँ सोच भएका व्यक्तिहरूका लागि बाँसको क्षेत्र नवप्रवर्तन, उद्यमशीलता र दीर्घकालीन लगानीको आकर्षक क्षेत्र बन्न सक्छ।
हामीले आज रोपेको बाँसको महत्व भविष्यमा प्राप्त हुने उत्पादन वा आम्दानीमा मात्र सीमित हुँदैन। यसले माटो संरक्षण, जलस्रोतको संवर्द्धन, कार्बन उत्सर्जन न्यूनीकरण, स्थानीय रोजगारी र भावी पुस्ताका लागि सुरक्षित तथा दिगो वातावरण निर्माणसँग समेत प्रत्यक्ष सम्बन्ध राख्दछ। त्यसैले बाँसमा लगानी गर्नु भनेको एउटा बालीमा मात्र लगानी गर्नु होइन—यो दीर्घकालीन, दिगो र हरित अर्थतन्त्रको सम्भावनामा लगानी गर्नु हो।
'नेपालमा बाँस' मार्फत हामी ज्ञान बाँड्ने, प्रविधि र अनुभव हस्तान्तरण गर्ने, अनुसन्धानलाई प्रोत्साहन गर्ने तथा कृषकदेखि बजारसम्मको सम्बन्धलाई थप बलियो र पारदर्शी बनाउने निरन्तर प्रयासमा छौँ । यो सुरुवात हो । आगामी दिनमा नेपालको विभिन्न भौगोलिक क्षेत्र, स्थानीय तथा उन्नत प्रजाति, उत्पादन प्रणाली, प्रशोधन प्रविधि र बजार सम्भावनालाई एकीकृत गर्दै बाँसलाई नेपालको व्यवस्थित, मर्यादित र व्यावसायिक उद्योगका रूपमा विकास गर्न सकिन्छ भन्ने विश्वास हामीले लिएका छौँ ।
बाँसको सम्भावना असीमित छ। अब त्यसलाई योजनाबद्ध उत्पादन, वैज्ञानिक अनुसन्धान, नवप्रवर्तनकारी उद्यम र बजारसँग जोडेर वास्तविक आर्थिक अवसरमा रूपान्तरण गर्ने जिम्मेवारी हाम्रो हो।
आउनुहोस्, ज्ञानबाट सुरुवात गरौँ, उत्पादनसँग जोडिऔँ, उद्यम निर्माण गरौँ र बाँसको माध्यमबाट नेपालको हरित समृद्धिको यात्रामा हातेमालो गरौँ।
धन्यवाद।
प्रतिक्रियाहरू 0