नगर प्रमुख तीर्थराज भट्टराईज्यूको सन्देश
बाँस प्रकृतिले हामीलाई दिएको एउटा असाधारण उपहार हो । प्रकृति, संस्कृति, परम्परागत ज्ञान, सीप, रोजगारी र समृद्धिसँग जोडिएको हाम्रो जीवन्त सम्पदा हो वनस्पति बाँस । यसको जरादेखि पातसम्म उपयोगी हुन्छ । परम्परादेखि नै नेपाली समाजमा घर-गोठ निर्माणदेखि डोको, डालो, नाङ्लो, भकारी, मुढा, चोया तथा विभिन्न हस्तकलाका सामग्री निर्माणमा बाँसको प्रयोग हुँदै आएको छ । त्यसैले बाँस हाम्रो ग्रामीण जीवनशैली, मौलिक संस्कृति र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको परम्परागत सीपको प्रतीक हो ।
आज विश्व जलवायु परिवर्तन, वातावरणीय विनाश, भूक्षय र प्राकृतिक विपद्को बढ्दो जोखिमसँग जुधिरहेको छ । यस्तो अवस्थामा तीव्र गतिमा वृद्धि हुने बाँस वातावरण संरक्षण र जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि महत्वपूर्ण प्राकृतिक स्रोत बन्न सक्छ । बाँसले वातावरणबाट कार्बन शोषण , हरियाली विस्तार,माटो संरक्षण र भूक्षय नियन्त्रण गर्नमा महत्त्वपूर्ण योगदान पुर्याउन सक्छ । त्यसैले बाँसको संरक्षण र विस्तार गर्नु प्रकृतिप्रतिको हाम्रो दायित्व हो भने भावी पुस्ताको सुरक्षित भविष्य निर्माण गर्ने अवसर पनि हो ।
बाँस आयुर्वेद तथा प्रकृति उपचारसँग समेत जोडिएको छ । परम्परागत ज्ञानमा रहेको यसको उपयोगलाई आधुनिक अनुसन्धान र प्रविधिसँग जोड्दै नयाँ सम्भावनाको खोजी गर्न सकिन्छ । हस्तकला र कुटिर उद्योगदेखि आधुनिक फर्निचर, आवास, विद्यालय, पर्यटन संरचना र विभिन्न भौतिक पूर्वाधार निर्माण गर्न बाँसको उपयोग गर्न सकिन्छ ।
बाँसमा आधारित कुटिर तथा साना उद्योगको विकासले गाउँगाउँमा स्वरोजगार सिर्जना हुन्छ। महिला तथा युवालाई उद्यमशीलतासँग जोड्न र स्थानीय सीपलाई आयआर्जनको माध्यम बनाउन सकिन्छ । आधुनिक प्रविधि, डिजाइन, प्रशोधन, गुणस्तरीय उत्पादन, ब्रान्डिङ र बजार व्यवस्थापनसँग बाँसलाई जोडेर व्यावसायिक बनाउन सक्ने हो भने यसले नेपालको ग्रामीण अर्थतन्त्रमा नयाँ ऊर्जा दिन सक्छ । त्यसैले बाँसलाई हामीले खोलाखोल्सामा पाइने वनस्पतिका रूपमा मात्र नभई " हरियो सुन " र नेपालको दिगो विकासको महत्वपूर्ण आधारका रूपमा हेर्न जरुरी छ ।
यसै सन्दर्भमा " नेपालमा बाँस " वेबसाइटको सुरुवातलाई म महत्वपूर्ण र स्वागतयोग्य पहलका रूपमा लिन्छु । बाँससम्बन्धी ज्ञान, अनुसन्धान, अनुभव, गतिविधि, प्रविधि र सम्भावनालाई डिजिटल माध्यमबाट अभिलेखीकरण तथा साझा गर्ने पहलकदमीले नेपालमा बाँसको पहुँच विस्तार गर्न, अनुसन्धानकर्ता, किसान, उद्यमी, अभियन्ता र नीति निर्माताबीच संवाद तथा सहकार्यको वातावरण बनाउन सहयोग पुग्ने छ । त्यसैगरी नयाँ पुस्तालाई यस क्षेत्रमा जोड्न कोशेढुँगा सावित हुने विश्वास लिइएको छु ।
बाँस रोप्नु यसको व्यवसायीक गर्ने शुरूवाति कदम हो । त्यसलाई संरक्षण गर्नु हाम्रो जिम्मेवारी र विविधीकरण गर्नु अवसरको रूपमा लिनुपर्छ । ज्ञान, प्रविधि तथा बजारसँग जोडेर आर्थिक मूल्य सिर्जना गर्नु सरकार पक्षले जिम्मेवारी सम्झनु पर्दछ । अब बाँसलाई परम्परागत प्रयोगमा मात्र सीमित नराखी आधुनिक प्रविधि र व्यावसायिक उत्पादनसँग जोड्दै राष्ट्रिय अर्थतन्त्रको एउटा महत्वपूर्ण क्षेत्रका रूपमा विकास गर्न आवश्यक छ ।
नेपालको प्राकृतिक सम्पदा, स्थानीय सीप र आधुनिक ज्ञानलाई एकीकृत गर्दै बाँसलाई दिगो विकास, रोजगारी र हरित समृद्धिको आधार बनाउन यो वेवसाईडले योगदान पुर्याउने मेरो विश्वास र अपेक्षा हो ।
" नेपालमा बाँस" को ज्ञानमूलक, सिर्जनशील र अभियानमुखी वेवसाईड यात्राको सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
तीर्थराज भट्टराई
नगर प्रमुख
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका , खोटाङ
प्रतिक्रियाहरू 0