स्थानीय सामग्रीलाई आधुनिक ज्ञान, उपयुक्त प्रविधि र स्थानीय सीपसँग जोड्न सके कम लागत, वातावरणमैत्री संरचना बन्ने वास्तुविद् नृपाल अधिकारीको विचार र शुभकामना।
बाँस नेपालका गाउँघर र समुदायसँग पुस्तौंदेखि जोडिएको प्राकृतिक स्रोत हो। तर यसको सम्भावना परम्परागत प्रयोगमा मात्र सीमित छैन। उचित अनुसन्धान, डिजाइन, प्रविधि र उद्यमशीलतासँग जोड्न सके बाँस दिगो निर्माण, स्थानीय रोजगारी, वातावरण संरक्षण र हरित अर्थतन्त्रको महत्वपूर्ण आधार बन्न सक्छ।
मैले वास्तुकला तथा दिगो निर्माणको क्षेत्रमा काम गर्ने क्रममा बाँस र माटोजस्ता स्थानीय तथा प्राकृतिक सामग्रीको सम्भावनालाई नजिकबाट अध्ययन र प्रयोग गर्ने अवसर पाएको छु। हाम्रो अनुभवले देखाएको छ कि स्थानीय सामग्रीलाई आधुनिक ज्ञान, उपयुक्त प्रविधि र स्थानीय सीपसँग जोड्न सके कम लागत, वातावरणमैत्री र स्थानीय आवश्यकताअनुकूल संरचना तथा उत्पादनहरू विकास गर्न सकिन्छ।
विशेषगरी बाँसको प्रजाति पहिचान, संरक्षण, वैज्ञानिक उपचार, डिजाइन, निर्माण प्रविधि, मूल्य अभिवृद्धि र बजार विकासलाई एकीकृत रूपमा अघि बढाउनु आवश्यक छ। बाँस उत्पादन गर्ने किसानदेखि अनुसन्धानकर्ता, डिजाइनर, प्राविधिक, उद्यमी र नीतिनिर्मातासम्म सबैको सहकार्यले मात्र यसको वास्तविक सम्भावना उजागर गर्न सक्छ।
यस सन्दर्भमा 'नेपालमा बाँस' जस्तो ज्ञानमूलक डिजिटल मञ्चको पहल महत्वपूर्ण छ। बाँससम्बन्धी सूचना, अनुसन्धान, अनुभव, प्रविधि, अभ्यास र सम्भावनालाई एउटै स्थानमा अभिलेख तथा आदान–प्रदान गर्ने यस्ता प्रयासले ज्ञानको पहुँच विस्तार गर्नुका साथै नयाँ पुस्तालाई यस क्षेत्रमा आकर्षित गर्न सहयोग पुर्याउँछ।
बाँसको भविष्य केवल बाँस रोप्ने कुरामा मात्र होइन; त्यसलाई बुझ्ने, अनुसन्धान गर्ने, संरक्षण गर्ने, डिजाइन गर्ने, मूल्य अभिवृद्धि गर्ने र समाजको आवश्यकतासँग जोडेर उपयोग गर्ने हाम्रो क्षमतामा निर्भर छ।
युवाहरूले बाँसलाई केवल परम्परागत सामग्रीका रूपमा होइन, अनुसन्धान, सिर्जनशीलता, नवप्रवर्तन र उद्यमशीलताको सम्भावनायुक्त क्षेत्रका रूपमा लिन आवश्यक छ। स्थानीय स्रोत र स्थानीय ज्ञानमा आधारित समाधानले नै दिगो भविष्य निर्माण गर्न सक्छ।
'नेपालमा बाँस' को यस महत्वपूर्ण पहलले नेपालमा बाँससम्बन्धी ज्ञान, अनुसन्धान र अभ्यासलाई जोड्दै नयाँ सम्भावनाको खोजी गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु।
प्रतिक्रियाहरू 0