प्लास्टिकले थिचेको पृथ्वी, बाँसले देखाएको विकल्प

0
1

– विष्णु थापा, व्यवसायिक बाँस कृषक – 9841383109

          आज पृथ्वी संकटमा छ । यो संकट कुनै एउटा देश, एउटा सहर वा एउटा पुस्तामा मात्र सीमित छैन; यो त सम्पूर्ण मानव सभ्यताको अस्तित्व माथि तेर्सिएको संगीन प्रश्न हो । हामी एउटा यस्तो भयावह युगमा बाँचिरहेका छौँ, जहाँ हामीले फेर्ने श्वास देखि पिउने पानीसम्म र हिमालको उचाईदेखि समुद्रको गहिराईसम्म ‘प्लास्टिक’ पुगिसकेको छ ।

          कुनै समय सुविधाको पर्याय मानिएको प्लास्टिक आज यो धर्तीको गला निमोठ्ने एउटा ‘अदृश्य पासो’ बनेको छ । सस्तो र टिकाउ भएकाले यसले हाम्रा भान्सादेखि बैठक कोठासम्म जरा गाड्यो । तर, विडम्बना ! यही ‘टिकाउपन’ नै आज यसको सबैभन्दा ठुलो अभिशाप बनेको छ । हामीले ५ मिनेट प्रयोग गरेर फालेको प्लास्टिकको कप वा झोला प्रकृतिमा सयौँ बर्षमा पनि नष्ट हुँदैन । यो माटोमा गाडिएर उर्वराशक्ति मार्छ, पानीमा बगेर जलचरको ज्यान लिन्छ र टुक्रिँदै–टुक्रिँदै माइक्रोप्लास्टिक बनेर हाम्रो खाना, पानी र हावामा मिसिन्छ ।

          आज विश्वभरका वैज्ञानिकहरू एउटै गम्भीर चेतावनी दिइरहेका छन् – माइक्रो–प्लास्टिक । प्लास्टिक क्रमशः टुक्रिँदै जाँदा बन्ने यी अत्यन्त सूक्ष्म कणहरू अब केवल वातावरणमै सीमित छैनन्; हाम्रो खाना, पानी र हावामार्फत मानव शरीरभित्रै प्रवेश गरिसकेका छन् । आँखाले नदेखिने यी माइक्रो प्लास्टिकहरू मौन तर घातक खतरा बनेका छन् । यसले मानव शरीरको हर्मोन प्रणालीमा गम्भीर अवरोध पुर्‍याउने, श्वासप्रश्वास सम्बन्धी समस्या बढाउने तथा क्यान्सरजस्ता दीर्घकालीन रोगहरूको जोखिम उच्च बनाउँदै लगेको वैज्ञानिक अध्ययनहरूले स्पष्ट संकेत गरेका छन् । यसले वातावरण मात्र होइन, मानव स्वास्थ्य र सभ्यताको आधार नै क्रमशः कमजोर बनाइरहेको कटु यथार्थ आज हाम्रो सामु उभिएको छ ।

          नेपालजस्तो प्राकृतिक रूपमा सम्पन्न देशमा पनि यो समस्या झन् पीडादायक देखिन्छ । पवित्र मानिने नदीहरू प्लास्टिकले थुनिएका छन् । पर्यटकीय स्थलहरू फोहोरको थुप्रो बन्दैछन् । सहरमा प्लास्टिकका कारण ढल अवरुद्ध भई बाढी, दुर्गन्ध र रोग फैलने अवस्था सिर्जना भएको छ । हामी प्रकृतिको पूजा गर्छौँ, तर व्यवहारमा प्रकृतिलाई घाइते बनाइरहेका छौँ – यो नै हाम्रो सबैभन्दा ठूलो विरोधाभास हो ।

          यहीँबाट बाँसको महत्व सुरु हुन्छ । बाँस कुनै नयाँ आविष्कार होइन, यो त हाम्रो संस्कृतिमा गहिरो रूपमा जरा गाडेको प्राकृतिक वरदान हो । छिटो बढ्ने, कम पानी र कम मलमा हुर्किने, काटेपछि पनि पुनः उम्रिने बाँस दिगोपनको जीवित उदाहरण हो । जहाँ प्लास्टिकले विनाश छोड्छ, त्यहाँ बाँसले पुनर्जीवन दिन्छ ।

          आज बाँस प्लास्टिकको व्यवहारिक विकल्पका रूपमा विश्वभर स्थापित हुँदैछ । झोला, टोकरी, स्ट्र, प्लेट, कप, फर्निचरदेखि घर निर्माणसम्म बाँस बहुउपयोगी छ । प्रयोगपछि बाँसजन्य सामग्री सजिलै माटोमा मिसिन्छन्, कुनै दीर्घकालीन प्रदूषण छोड्दैनन् । अझ, बाँसले उच्च मात्रामा कार्बन डाइअक्साइड सोस्ने भएकाले जलवायु परिवर्तन न्यूनीकरणमा पनि महत्वपूर्ण योगदान पुर्‍याउँछ । पहाडी भूभागमा माटो कटान रोक्ने र वातावरणीय सन्तुलन कायम राख्ने यसको भूमिका अतुलनीय छ ।

          बाँस केवल वातावरणीय सुरक्षाको उपाय मात्र होइन, यो त नेपालको समृद्धिको बलियो खम्बा पनि हो । हाम्रा गाउँ-बस्तीमा खेर गइरहेको बाँसलाई उद्योगसँग जोड्न सके एकातिर हजारौँ युवाले स्वदेशमै मर्यादित रोजगारी पाउनेछन् भने अर्कोतिर हाम्रा पुर्ख्यौली सीप र कलाले आधुनिक बजारमा सम्मान पाउनेछन् । प्लास्टिक आयातका लागि बाहिरिने अर्बौँ रुपैयाँ स्वदेशमै रोक्नु भनेको ‘हरित अर्थतन्त्र’ र ‘आत्मनिर्भर नेपाल’ तर्फको वास्तविक प्रस्थानविन्दु हो ।

          अन्ततः, यो लडाइँ केवल प्लास्टिक र बाँसबीचको होइन, यो त हाम्रो विवेक र स्वार्थ बीचको लडाइँ हो । आज हामीले ‘सस्तो र सजिलो’ मानेर अँगालेको प्लास्टिक हाम्रा निर्दोष सन्तानका लागि ‘महँगो र घातक’ विष बन्दैछ ।

          याद राखौँ, सुविधाको नाममा हामीले आज गर्ने सानो गल्तीको सजाँय भोलि हाम्रा सन्ततिले भोग्नुपर्नेछ ।  त्यसैले, अब ढिला नगरौँ । आफ्नो घर र जीवनबाट प्लास्टिकलाई दृढताका साथ ‘बिदा’ गरौँ र प्रकृतिले उपहार स्वरूप दिएको बाँसलाई ‘स्वागत’ गरौँ ।