बाँसको घर : दिगो, सस्तो र भूकम्प प्रतिरोधी आवास

0
2389

लेखक: विष्णु थापा
व्यवसायिक बाँस कृषक
📞 9841383109

        कङ्क्रिट, सिमेन्ट र फलामले भरिएको आजको सहरिया जीवनले मानिसलाई क्रमशः प्रकृतिबाट टाढा बनाउँदै लगेको छ । बढ्दो जलवायु तापक्रम / प्रदूषण, महँगो निर्माण लागत र उच्च भूकम्पीय जोखिमले भरिएको आवासीय परिवेशले अब हामीलाई वैकल्पिक र दिगो सोचतर्फ गम्भीर रूपमा उन्मुख गराएको छ । यही सन्दर्भमा, परम्परागत ज्ञान र आधुनिक प्रविधिको संयोजनका रूपमा “बाँसको घर” पुनः एक सुरक्षित, किफायती र दिगो आवासीय विकल्पका रूपमा स्थापित हुँदै गएको छ ।

          बाँस केवल एउटा बिरुवा मात्र होइन । यो दिगोपन, लचकता, स्थानीय आत्मनिर्भरता र हरित भविष्यको प्रतीक हो । नेपालजस्तो भौगोलिक रूपमा विविध र भूकम्पीय जोखिमयुक्त मुलुकका लागि बाँस आधारित संरचना विशेष रूपमा उपयुक्त मानिन्छ । बाँस हलुका तर बलियो सामग्री भएकाले यसले भूकम्पीय झट्कालाई अवशोषण गर्दै संरचनागत क्षति न्यूनिकरण गर्न मद्दत गर्छ । यही वैज्ञानिक आधारका कारण विश्वका विभिन्न भूकम्पीय क्षेत्रहरूमा बाँस संरचनालाई सुरक्षित आवासको रूपमा प्राथमिकता दिइँदै आएको छ ।

          यसै सन्दर्भमा, हालै नेपाल सरकारले जारी गरेको ‘बाँसबाट निर्माण हुने संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन, २०८२’ ले बाँसको घरलाई अझ औपचारिक, सुरक्षित र इन्जिनियरिङ दृष्टिले विश्वसनीय बनाएको छ । यस मार्गदर्शनले संरचनागत डिजाइन, भार वहन क्षमता, जोइन्ट प्रणाली, प्रशोधन विधि तथा सुरक्षा मापदण्डहरू स्पष्ट गरेको छ, जसले बाँसको घरलाई परम्परागत प्रयोगमा सीमित नराखी आधुनिक आवासीय संरचनाको रूपमा अघि बढ्न मार्ग प्रशस्त गरेको छ ।

          पर्यावरणीय दृष्टिले बाँसको घर अत्यन्त लाभदायक छ । सिमेन्ट उद्योगबाट ठूलो मात्रामा कार्बन उत्सर्जन हुने अवस्थामा बाँसले वातावरणबाट कार्बन सोस्ने काम गर्छ । छिटो बढ्ने, पुनः उत्पादनयोग्य र न्यून श्रोत आवश्यक पर्ने भएकाले बाँस जलवायु परिवर्तनको चुनौती सामना गर्ने प्रभावकारी समाधान पनि हो । यसर्थ, बाँसको घर निर्माण गर्नु व्यक्तिगत आवासको आवश्यकता पूरा गर्नुका साथै पृथ्वी संरक्षणमा योगदान दिनु पनि हो ।

          लागतका हिसाबले बाँसको घर ग्रामीण तथा अर्ध-सहरी क्षेत्रमा झन् आकर्षक विकल्प बन्छ । स्थानीय रूपमा उपलब्ध बाँसको प्रयोगले ढुवानी खर्च घटाउँछ, निर्माण समय छोट्याउँछ र स्थानीय रोजगारी सिर्जना गर्छ । यसले ग्रामीण अर्थतन्त्र सुदृढ गर्नुका साथै परम्परागत बाँस-सीप, क्षमता र स्थानीय ज्ञानलाई पुनर्जीवित गर्छ । आधुनिक इन्जिनियरिङ र स्थानीय सीपको यो संयोजनले सस्तो, सुरक्षित र सौन्दर्ययुक्त आवास सम्भव बनाएको छ ।

          अझै पनि केहीले बाँसको घरलाई अस्थायी वा कमजोर संरचना ठान्ने गर्छन् । तर वैज्ञानिक प्रशोधन, उचित डिजाइन, आधुनिक जडान प्रविधि र नियमित मर्मत मार्फत बाँसका घरहरू दशकौँसम्म टिकाउ बन्न सक्छन् । आज विश्वका विभिन्न मुलुकहरूमा बाँसबाट बहु-तले भवन, रिसोर्ट, विद्यालय र सामुदायिक संरचनाहरू सफलतापूर्वक निर्माण भइरहेका छन्, जसले यसको क्षमताको स्पष्ट पुष्टि गर्छ ।

          सौन्दर्यको दृष्टिले पनि बाँसको घर अद्वितीय छ । प्राकृतिक बनावट, न्यानोपन र सास फेर्न मिल्ने संरचनाले यस्तो घरलाई केवल बसोबासको स्थान नभई मानसिक शान्तिको आश्रय स्थल बनाउँछ । गर्मीमा चिसो र जाडोमा तुलनात्मक रूपमा न्यानो रहने यसको गुणले ऊर्जा खपत घटाई दीर्घकालीन आर्थिक बचतमा समेत योगदान पुर्‍याउँछ ।

          आज “दिगो विकास”, “हरित आवास” र “स्थानीय स्रोतको उपयोग” जस्ता अवधारणाहरू केवल नारामा सीमित हुँदै गएको अवस्थामा, बाँसको घर ती सबैको व्यवहारिक र जीवन्त उदाहरण हो । यो परम्पराको सम्मान, आधुनिक प्रविधिको उपयोग र भविष्यप्रतिको जिम्मेवारीको सशक्त अभिव्यक्ति हो ।

          बाँसको घर रोज्नु विलासिताको होइन, विवेकको छनोट हो । यो प्रकृतिसँग लड्ने होइन, सहअस्तित्वमा बाँच्ने सोचको सुरुवात हो । यदि हामीले आज बाँसजस्ता दिगो विकल्पलाई आत्मसात् गर्न सक्यौँ भने, भोलिका पुस्तालाई सुरक्षित, हरित र सन्तुलित भविष्य सुम्पन अवश्य सक्नेछौँ ।