बाँस: निर्माण सामग्री मात्र होइन, स्वास्थ्य र पोषणको ‘सुपरफूड’

0
1

लेखक: विष्णु थापा
व्यवसायिक बाँस कृषक
📞 9841383109

          बढ्दो जनस्वास्थ्य चुनौती, आयात निर्भर खाद्य प्रणाली र जलवायु परिवर्तनको चापबीच आज विश्वले पोषणयुक्त, दिगो र स्थानीय श्रोतमा आधारित समाधान खोजिरहेको छ । यही सन्दर्भमा बाँस (Bamboo) अब केवल वातावरणीय वा निर्माण सामग्रीको रूपमा सीमित नरही स्वास्थ्य र खानपानसँग जोडिएको उच्च सम्भावनायुक्त रणनीतिक स्रोतका रूपमा समेत उदाउँदैछ ।

          बाँसलाई परम्परागत रूपमा निर्माण, हस्तकला र वातावरणीय संरक्षणसँग मात्र जोडेर हेर्ने गरिन्छ । तर पछिल्ला वर्षहरूमा स्वास्थ्य विज्ञान, पोषणशास्त्र र हरित अर्थतन्त्रले बाँसलाई स्वास्थ्य र खानपानको बहुआयामिक स्रोतका रूपमा पुनःपरिभाषित गरिरहेका छन् । छिटो बढ्ने, रसायनरहित रूपमा उत्पादन गर्न सकिने र पोषणयुक्त भएकाले बाँस आज विश्व बजारमा स्वस्थ जीवनशैली (Healthy Lifestyle)दिगो खानपान (Sustainable Diet) को महत्वपूर्ण अंग बन्दै गएको छ ।

          स्वास्थ्य र खानपानमा बाँसको सबैभन्दा चर्चित प्रयोग बाँसको टुसा (Bamboo Shoot) हो । एशियाली मुलुकहरूमा शताब्दीयौँदेखि प्रयोग हुँदै आएको बाँसको टुसा आज “Functional Food” को रूपमा चिनिन थालेको छ । बाँसको टुसामा उच्च मात्रामा डाइटरी फाइबर, अत्यन्त न्यून चिल्लो पदार्थ, पर्याप्त प्रोटिन, भिटामिन B–समूह, भिटामिन E, पोटासियम, क्याल्सियम, म्याग्नेसियम र फलाम पाइन्छ ।

          यसले पाचन प्रणाली सुधार गर्नुका साथै कब्जियत, मोटोपन र कोलेस्ट्रोल सम्बन्धी समस्याहरू नियन्त्रण गर्न सहयोग पुर्‍याउँछ । मधुमेह तथा उच्च रक्तचाप भएका व्यक्तिहरूका लागि पनि बाँसको टुसा सुरक्षित र लाभदायक खाद्यवस्तु मानिन्छ ।

          बाँसको टुसामा पाइने फाइटोस्टेरोल, एन्टिअक्सिडेन्ट र फाइबरले शरीरमा खराब कोलेस्ट्रोल घटाई मुटुरोगको जोखिम कम गर्न मद्दत गर्छ । साथै, यसको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता मजबुत बनाउने, शरीरलाई भित्रबाट शान्त राख्ने, सुन्निने र दुख्ने समस्या कम गर्ने र दीर्घकालीन रोगहरूको जोखिम न्यूनीकरण गर्ने विभिन्न पोषण तथा स्वास्थ्यसम्बन्धी अध्ययनहरूले देखाएका छन् ।

          परम्परागत चिनियाँ तथा आयुर्वेदिक चिकित्सा प्रणालीमा बाँसजन्य पदार्थलाई शीतल, शुद्धिकरण गर्ने र उपचारात्मक गुणयुक्त मानिन्छ । स्वास्थ्य सचेत उपभोक्ता माझ बाँसको पातबाट बनेको चिया (Bamboo Leaf Tea) तीव्र रूपमा लोकप्रिय हुँदै गएको छ । क्याफिनरहित यो चियाले शरीरलाई डिटक्स गर्ने, तनाव र थकान कम गर्ने, रक्तचाप सन्तुलनमा राख्ने जस्ता लाभ प्रदान गर्छ । यसका अतिरिक्त, बाँसबाट उत्पादित डाइटरी सप्लिमेन्ट, हर्बल पाउडर र फंक्शनल बेभरेज हरू अन्तर्राष्ट्रिय बजारमा नयाँ सम्भावनाको क्षेत्र बन्दै गएका छन् ।

          स्वास्थ्य र खानपानमा बाँसको भूमिका खाद्यवस्तुमा मात्र सीमित छैन । बाँसबाट निर्मित प्लेट, चम्चा, काट्ने बोर्ड र किचनवेयरले प्लास्टिक र रासायनिक भाँडाको सुरक्षित विकल्प प्रदान गर्छ । बाँस प्राकृतिक रूपमा एन्टिब्याक्टेरियल गुणयुक्त भएकाले यसले खाद्य सुरक्षा र स्वच्छतामा पनि सकारात्मक योगदान पुर्‍याउँछ ।

          बाँस आज केवल वातावरणीय समाधान होइन, स्वास्थ्य, पोषण र व्यवसायिक सम्भावनाको संगम हो । सही प्रशोधन, गुणस्तरीय उत्पादन र वैज्ञानिक ढंगले बजार व्यवस्थापन गर्न सकिए बाँसले स्वस्थ समाज निर्माण गर्नुका साथै किसान, उद्यमी र राष्ट्रको अर्थतन्त्रलाई समेत मजबुत बनाउन सक्छ ।

           यदि तपाई स्वाद र स्वास्थ्य दुवैलाई सँगै लैजान चाहनुहुन्छ भने आजैदेखि आफ्नो खानपानमा उचित मात्रामा बाँसको तामालाई समावेश गर्नुहोस् ।